सापकोटा वंशावली

सम्पादकीय

मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणीले समाजमा आफ्ना विभिन्न पक्षको पहिचान खोज्दछ । अन्य पक्षहरूको पहिचानका साथै म र मेरो परिवार, कुल वंश के हो ? कसरी सुरु भयो ? सम्झनै पर्ने, मान्नै पर्ने त्यस्ता वैज्ञानिक वा सांस्कारिक परम्पराहरू के के हुन् ? पहिचान कायम गराउने त्यस्ता महत्त्वपूर्ण परम्पराहरू हाल कुन अवस्थामा छन् ? भन्ने कुरा ज्यादै महत्त्वपूर्ण हुन्छ । आफूलाई पहिचान दिने कुल वंशले मान्दै आएको रीतिरिवाज, धर्म संस्कृति, चालचलन, संस्कार र मूल्य मान्यताहरू एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै जान्छ र यसैले वंशको पहिचान कायम गराउँदछ । पहिलेको अवस्थामा एक वंशको सुरुवात कुनै एक खास भूगोलमा भयो, त्यसै भूगोल वा आसपासमा फैलिन थाल्यो र एकै भूगोलमा वा आसपासमा रहँदा कुलका सबै कुराहरू पुस्तान्तरण सहज हुने गर्दथ्यो । तर अहिले समय र परिस्थितिले फरक भूगोलमा छरिएर रहेको अवस्थामा वंश अथवा कुलका परम्पराहरू भूगोलका कारणले वा अन्य कुल वा वंशसँगको मिश्रित बसोबासका अवस्थाले गर्दा बिस्तारै मिश्रित हुँदै जाने र आफ्नो पहिचान हराउँदै जाने खतरा बढ्दै[?] गएको छ ।

कुल वा वंशका बारेमा भावी सन्ततिहरूलाई जानकारी दिनका लागि वंशको इतिहासका बारेमा लिखित दस्ताबेजहरू वा प्रकाशित वंशावली बलियो आधार हुनसक्छ । यस अवस्थामा वंशावलीले इतिहासलाई भावी सन्ततिहरूसम्म पुर्‍याउने महत्त्वपूर्ण पुलको काम गर्नुका साथै भावी सन्ततिलाई यो कामको निरन्तरता दिन, कुलका बारेमा खोज अनुसन्धान गर्न र समय परिस्थिति र आवश्यकताका आधारमा परिमार्जन गर्न झक्झक्याउँछ वा उत्प्रेरणा दिन्छ । यसै वास्तविकतालाई हृदयङ्गम गरी तार्कु कसुन्डेका आठौँ पुस्ताका जगन्नाथ सापकोटा (वैद्यबा) ले एक वंशवृक्ष तयार गर्नुभएको थियो भन्ने सुनियो । यसले आठौँ पुस्तासम्मका पुरुषहरूलाई मात्र समेटेको थियो भन्ने जानकारी जेष्ठ नागरिकहरूबाट पाइन्छ । उक्त वंशवृक्षको जगमा दशौँ पुस्ताका पण्डित रेवतीरमण सापकोटाले दशौं पुस्तासम्मका पुरुषहरूलाई समेटेर हस्तलिखित वंशवृक्ष तयार गर्नुभयो तर वंशवृक्ष पनि प्रकाशनमा आउन सकेन । सापकोटा कल्याण केन्द्र देवघाट तनहुँले २०७४ सालमा हरेक भूगोलका सापकोटालाई समेटेर बृहत् अध्ययनसहितको वंशावली प्रकाशित गर्‍यो । सापकोटाका लागि मात्र नभएर कौडिन्य गोत्रीय वंश तथा अन्यका लागि समेत यो महत्त्वपूर्ण अध्ययन सामग्री तथा श्रोत ग्रन्थ बनेको छ ।

सापकोटा कल्याण केन्द्र देवघाटबाट २०७४ मा प्रकाशित सापकोटा वंशावली तथा ज्येष्ठ नागरिकहरूका अनुसार लमजुङ शाह वंशीय राजाको समयमा १६ औं र १७ औं सताव्दी (अनुमानित) कास्कीको तारकाँङ मझुवाबाट भूमिनन्द सापकोटा आफ्ना छोरा सर्वानन्द सापकोटासँगै लमजुङ आएको त्यसपछि भूमिनन्दका बारेमा खासै जानकारी नभएको र सर्वानन्द सापकोटा हालको गण्डकी प्रदेश, लमजुङ जिल्लाको हालको सुन्दरबजार नगरपालिका वडा नं ८ तार्कु कुसुनडे (कुशपानी) मा आई बसोबास गरेको भन्ने बुझिन्छ ।

सर्वानन्द सापकोटाका सन्ततिहरूलाई तार्कु कुसुन्डे (कुशपानी)मूल थलो भएका सापकोटा भनेर चिनिन्छ । सापकोटा कल्याण केन्द्र देवघाटद्वारा प्रकाशित सापकोटा वंशावली, जगन्नाथ सापकोटा र रेवतीरमण सापकोटाले तयार गरेको वंशवृक्षका आधारमा नवौं पुस्ताका श्री पूर्णकान्त सापकोटाले सर्वानन्द (षडानन्द) सापकोटाको वंश सुरुवात तथा सन्ततिहरूको उपलब्ध हुनसके जतिको जानकारी (श्रीमान श्रीमतीको जन्ममिति, माइतीको थर, छोरा छोरीहरूको सङ्ख्या, ज्वाइँको नामथर, ठेगाना र सम्पर्क नम्बर) आदि सबै सूचनाहरू सङ्कलन गरी थप विस्तृत जानकारी समेटेर तयार गर्नुभएको यस वंशको सँगालोलाई तार्कु कसुन्डे मूल थलो भएका कौडन्य गोत्रीय सापकोटाहरूको वंशावलीका रूपमा प्रकाशन गरिएको छ ।

सर्वानन्द सापकोटाका सन्ततिहरू हाल १३ औं पुस्तासम्म पुगेका छन् भने बसाइ सराइका क्रममा लमजुङ तार्कु कसुन्डे (कुशपानी) बाहेक सुन्दरबजार नगरपालिका वडा नं ८ र ९ को भोटेओडारको विभिन्न स्थानबाट, चितवन, दाङ, बारा, कैलाली, बाँके, काठमान्डौ, भारतको लखनउ, अमेरिका, क्यानडा, बेलायत र जर्मनीसम्म छरिएर रहेको पाइन्छ । पहिलेको अवस्थामा सबै एकै गाउँमा बसोबास गर्ने सबैमा आपसी चिनजान भाइचारा सम्बन्ध रहने आपसी सहयोग र सद्भाव थियो । समाजको विकासक्रममा अहिलेको सामाजिक संरचनामा परिवर्तन भएको छ । बसाइ सराइका क्रममा विभिन्न भूगोलमा छरिएर बसेको हुनाले एकै वंशका दाजुभाइका बिचमा पनि चिनजान नहुने अवस्था सिर्जना भएको छ । पुस्ता र आफ्ना पुर्खाहरू, दाजुभाइ र इष्टमित्रका बारेमा जानकारी नभएको अवस्थामा हामी आइपुगेका छौं । चिनजान, सम्पर्क, सम्बन्ध र सूचनाको अभावमा परापूर्वदेखि चलिआएको एकै गोत्रका वर र कन्याका बिचमा वैवाहिक सम्बन्ध गर्न नहुने संस्कारमा समेत दखल पुग्ने सम्भावना रहेको देखिन्छ । आफ्ना पुर्खाहरू र उनका सन्ततिका बारेमा जानकारी दिनसक्ने सूचनाको एक सङ्ग्रहका रूपमा यस वंशावली महत्त्वपूर्ण दस्ताबेज बन्न सक्नेछ भन्ने अभिप्रायले यो वंशावली प्रकाशन गरिएको छ । यो वंशावली सापकोटा कल्याण केन्द्र, गण्डकी प्रदेश कमिटिले प्रकाशन गर्न लागेको प्रदेशस्तरीय वंशावलीका लागि लागि समेत एक स्रोत सामग्री बन्नेछ ।

यो वंशावली तयार गर्नका लागि सङ्कलक श्री पूर्णकान्त सापकोटाले विभिन्न सन्दर्भ सामग्रीहरूको खोजी र अध्ययन, सामाजिक सञ्जालको प्रयोग, सम्भावित स्थानहरूमा आफैँ पुगेर र छलफल गरेर सूचना सङ्कलन गर्नुभएको छ । यसरी सङ्कलित सूचनाहरूलाई दस्ताबेजीकरण गरी यो वंशावलीको पाण्डुलिपि तयार गर्नमा ठुलो मेहनत गर्नुभएको छ । यस कामका लागि सङ्कलक श्री पूर्णकान्त सापकोटालाई सम्पूर्ण सापकोटा परिवारका तर्फबाट सम्पादक र वंशावली प्रकाशन सहयोग समिति मार्फत कृतज्ञता अर्पण गर्दछौँ ।

वंशावली प्रकाशनको महत्वपूर्ण काम भाषा सुधिदकरणमा वाल्मिकी कलेजका उपप्राध्याक श्री टेकनाथ दहालले व्यस्त समयका वावजुद अतुलनिय सहयोग गर्नुभयो र मात्र यो वंशावली यस रुपमा आउन सक्यो, यसका लागि सर्वानन्द सापकोटा परिवारका तर्फवाट श्री दहाल प्रति हार्दिक आधार प्रकट गर्दछु । संकलित सूचनाहरु जाँचबुझ तथा अन्य आवश्यक सल्लाह दिने सल्लाहाकार समितिका आदरणीय अग्रजहरु टिकाराम सापकोटा वाग्लुङ्, बुध्दिसागर सापकोटा कास्की, टिकाराम सापकोटा चितवन, डा. कविन्द्र सापकोटा र सापकोटा कल्याण केन्द्र लमजुङ्गका अध्यक्ष श्री खगराज सापकोटा ज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । सम्पादनका क्रममा सूचनाको जाँचबुझमा श्रीमती डोलकुमारी (प्रतिभा) सापकोटाको, कम्प्युटर डिजाइनिङ्मा छोरा शुभाष सापकोटाको अतुलनीय सहयोग रह्यो, यसका लागि वहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दछौं । यस्तै प्रकारले अध्ययन तथा लेखन कार्यका लागि भतिज दिनेश सापकोटाको निजी पुस्ताकालय महत्त्वपूर्ण स्थल बन्यो यसैले दिनेश सापकोटा र सहयोग गर्ने उनको परिवार पनि धन्यवादका पात्र हुन् । सर्वानन्द सापकोटा परिवारको समय समयको उत्साह र उत्प्रेरणा, सरसल्लाहा र सुझावका साथै सूचनाको प्रदान आदिले झनै ठुलो भूमिका खेलेको छ त्यसकारण सबैप्रति आभारी छौं ।

सम्पादक

स्रोत: भूमिका, भूमिका